सुस्ता समस्या सुल्झाउन पटकपटक नेपाल र भारतबीच छलफल भएपनि कुनै निस्कर्ष निस्कन सकेको छैन । सुस्ताको विवाद सुल्झाउन विसं १९८६ मा संयुक्त सीमा कमिसन बन्यो र १९९४ २००४ र २०१० सालमा पटकपटक सुस्ताको अतिक्रमण विवाद सुल्झाउन बैठक बस्यो तर भारतीय पक्षका कारण कुनै सहमति निस्कन सकेन ।२०१६ सालमा नेपाल र भारत सरकारबीच भएको गण्डक सम्झौता अनुरुप गण्डक बांध निर्माणमा लागेका कामदार तथा भारतीय श्रमिक निर्माण पुरा भएपछि सुस्तामा बसेका कारण पनि झन् विवाद बढेर गएको बताइएको छ । २०२८ सालमा सीमा यकिन गर्न नेपालका तर्फबाट नापी नक्सा सुरु गरियो तर सुस्तास्थित ढोग सोता नाला नजिक नापी गर्दै गरेको अवस्थामा राजेन्द्र प्रसाद मराठले तयार पारेको नक्शा भारतीयले लुटि लगे । नापी गर्ने औजार भने नेपालीले मुस्किलले बचाए पनि नापी भने हुन सकेन । २०१९ सालमा केन्द्रीय स्तरबाट समिति गठन गरियो छानविन भयो तर विवाद समाधान गर्न दुबै पक्षलाइ मान्य हुने आधार निस्कन सकेन र सुस्ता भुमि झन् विवादित बन्दै गयो । यसबीचमा सुस्तामाथिको अतिक्रमण रोकिएन । झन् दिन दुगुना रात चौगुना बढ्दै गयो । आफ्नो भूमिमा हेर्दाहेर्दै अरुले धान रोप्न थालेपछि सुस्ताबासीको मन दुख्यो । उनीहरुले सहन सकेनन् । सुस्ताबासीले भूमि अतिक्रमणविरुद्ध आवाज निकाल्न थाले । तर पनि समस्याको समाधान निकाल्न नेपाल सरकारले कुनै पहल गर्न सकेको छैन ।
| सुस्ता बचाउन सुस्ताबासीले सशक्त आन्दोलन गर्दै गएपछि २०६४ साउनमा स्थानीय अधिकारकिो संयुक्त बैठकले भुमि अतिक्रमण नगर्ने सहमति भयो तर सहमतिलाई भारतले कुनै वास्ता गरेन फेरी २०६४ मंसीर ६ गते पुन सुस्ताको भुमि भारतीयले अतिक्रमण गरे । अहिलेसम्म पनि भारतीय पक्षबाट सीमा मिचिने क्रम भने रोकिएको छैन । यति मात्र होइन भारतीय पक्षले नेपाली भूभाग अतिक्रमण गरी त्यहाँ नेपालीले लगाएको उखु काट्ने आगो लगाउने काम समेत गर्दै आए । नेपाली बासिन्दालाई पिट्ने यातना दिने र झुट्टा मुद्धा लगाउने जस्ता कार्यहरु भारतीय सीमा सुरक्षाबल एसएसबीको आडमा बढ्दै गएको सुस्तावासी बताउंछन् । आफूले बर्षौंदेखि खेती लगाउंदै आएको भुमी भारतीयले खोसेपछि निराश बन्दै छन् सुस्तावासी । अहिले भारतले अतिक्रमण गरेको नेपाली भुमिमा भारतीय रमपुरा गाउंका बासिन्दाले घर बनाएर धान खेती गरेका छन् । तर सुस्ताबासी भने टुलुटुलु हेरेर बस्न बाध्य भएका छन् । र लालपुर्जा नामको कागजको खोस्टो बोकेर भौतारिईरहेका भेटिन्छन् । अतिक्रमण भएको भुमी फिर्ता हुने आशामा बाटो हेरिरहेका छन् । सुस्ता बचाउ अभियानमा लागेका गोपाल गुरुझादमा खां रोज झाली लैला बेगम मुन्ना खां जस्ता नेपालीहरुलाई भारतियहरुले भौतिक तथा मानसिक यातना दिदै आएका छन । तर पनि आफ्नो भुमिको रक्षा रक्षा गर्न आफ्नो संघर्षलाई भने सुस्ताका बासिन्दाले छाडेका छैनन् । उनीहरु भनिरहेका छन् भुमी अतिक्रमण बन्द हुनु पर्छ । अतिक्रमित भूमि फिर्ता हुनु पर्छ र हामी नेपाली भएर बाँच्न पाउनु पर्छ । सुस्ताको रक्षा गर्न सुस्ता बासीहरु कहिले सदरमुकाम परासी त कहिले काठमाडौ नपुगेका पनि होइनन । तर सुस्ता बासिको आवाजलाई सरकारले सुने पनि नसुने झै गरेर बसिरह्यो । अतिक्रमित भुमी रोक्न कुनै पहलसम्म गर्न सकेन । सुस्ताबासी भनिरहेका छन् हामीहरु मिचिएको जमिन लिन भारतीय नागरिक हुन जाउँ की लालपुर्जाको खोस्टो समातेर सुकुम्वासी नेपाली भएर जिउदै मरेको अवस्थामा बाँचु |
| सुस्ता एउटा उदाहरण मात्र हो सुस्ताजस्ता थुप्रै नेपाली भूभाग भारतीय अतिक्रमणमा परेका छन् । तिनीहरुको रक्षा गर्ने दायित्व नेपाल सरकारको हो । यदि बेलैमा रक्षाका लागि बेलैमा पहल नगरिए सुस्ता कालापानी जस्तो नहोला भन्न सकिन्न । सुस्ताको भुमि रक्षाको लागि राजनीतिक तहमा छलफल गर्नुपर्दछ सरकारले । नयाँ नेपालका राष्ट्र र सरकारप्रमुखले सीमा समस्या समाधानका लागि प्राथमिकताका साथ पहल गर्नुपर्दछ । सीमा समस्या समाधान सम्बन्धी कुरा उठाउंदा भारतीय समकक्षी रिसाउलान् र आफनो कुसर्ी संकटमा पर्ला भन्ने अनाहकको डर र भय राजनीतिक दलले हटाउनै पर्दछ ।भूमि भारतीयले अतिक्रमण गरे । तर जीवन आफ्नै सरकारले गरिरहेको छ नेपाल सरकारले । मानिसलाई चाहिले न्युनतम आवश्यकताहरु सरकारले दिएको छैन टाउको दुख्दा सिटामोलसमेत पाउदैंनन् सुस्ताबासी । भारतीय बजारमा जान सजिलो छ उनीहरुलाई तर स्वदेशकै बजारमा जान ज्यानकै बाजी लगाउनुपर्छ । पुलसमेत बनाइदिएको छैन सरकारले । बिजुलीको मुख देखेका छैनन् शिक्षाबाट विाचत छन् । त्यसैले त सुस्ताबासीको जीवनमाथि नै अतिक्रमण भइरहेको छ ।केही दिन अघि एक वर्षको छोराको मृत्यु भयो । मृत्युको कारण अरु केही थिएन । छोरो झाडापखालाले ग्रस्त थियो तर उसले समयमै उपचार पाएन । सुस्ताबासीले भोगेको प्रतिनिधि घटना हो यो । सुस्तामा एउटा स्वास्थ्य उपचार केन्द्र छ तर त्यहाँ टाउको दुख्दा खाने सिटामोलसमेत छैन । उपचारको आशा बोकेर आएका मानिसहरु पनि रित्तो प्राथमिक स्वास्थ्य केन्द्र देखेपछि निराश भएर फर्कन्छन् । तीन महिनाअघि बिदामा गएका प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारी अहिलेसम्म फर्किएका छैनन् । पटकपटक सदरमुकामको जिल्ला जनस्वास्थ्य पुगेर डाक्टर र औषधी पठाईदिन आग्रह गरेपनि जिल्ला जनस्वास्थ्य कार्यालयले सुनेको छैन । नजिकै रहेको भारतीय रमपुरवा गाउका बासिन्दा र भारतीय एसएसबी फोस्रले अनाहकमा दुःख दिनेगरेकाले पनि सुस्ताबासी भारतीय बजारमा उपचार गराउन जाँन सक्दैनन् । उपचारमात्र हैन दैनिक उपाभोग्य बस्तु किन्न पनि भारतिय बजारमा भरपर्नु पर्ने बाध्यता छ भने नेपाली बजारमा जानका लागि डुंगाको सहारा लिनु परेको छ । अझ त्यसमाथि भनेको बेला डुंगा नपाइने र घण्टौ कुर्नु पर्ने बाध्यता छदैंछ । बर्षायाममा त ज्यानको बाजी नै थापेर डुगा चढ्नु पर्ने बाध्यता छ सुस्तावासीलाई । यतिमात्र होइन सुस्ताबासी शिक्षाबाट समेत बन्चित हुनु परको छ । न त राम्रो बिद्यालय छ न त शिक्षकको दरबन्दी नै । नारायणी नदी पार गरेर जानु पर्ने बाध्यता छ । त्यसकारण पनि धेरै बिद्यार्थीले बिचमै अध्ययन छाड्ने गरेका छन् । सुस्ताबासीलाई अझैं पनि टुकी नियतीले छाड्न सकेको छैन । हरेक रात अन्धकार झैं लाग्छ सुस्ताबासीलाई । रात टुकीको भरमा बिताउनुपर्छ तर मट्टितेलको जोहो चाहि कसरी गर्ने उनीहरुलाई थाहा छैन । बेरोजगारी शिक्षा तथा स्वास्थ्य सुविधाबाट विाचत सुस्तामा सरकारका मन्त्री राजनीतिक दल र नेतासमेत नपुगेका चाहि होइनन् र तिनीहरुले अतिक्रमण रोक्न पहल गर्ने र सुस्ताको विकासका लागि आवाज उठाउने आश्वासन नदिएका पनि होइनन् तर सुस्ताबासीका ती समस्या ज्युँका त्युँ छन् । न भुमि अतिक्रमण रोकिएको छ नत झोलुगें पुल नै बनेको छ न बिजुलि बत्ति नै बाल्न पाएका छन् सुस्ताबासीले । सीमा समस्यालाई समाधान गर्ने प्रयास त सरकारले गरेन । तर यदि सुस्तालाई पनि नेपालकै अभिन्न अंग मान्ने हो र सुस्ताबासीलाई राज्यकै नागरिक मान्ने हो भने उनीहरुलाई सहज जीवन धान्न हुने गरी न्युनतम आवश्यकताहरुको व्यवस्था सरकारले गरिदिनुपर्छ । यातायात बिजुली शिक्षा स्वास्थ्य त्यस्ता न्युनतम आवश्यकता हुन् जसको चर्को अभाव भोगिरहेका छन् सुस्ताबासी । यी अभाव पूरा भए भने मात्र सुस्ताबासीले पनि नयाँ नेपालको वास्तविक स्वाद चाख्न पाउनेछन् । यसका लागि नयाँ सरकारले पहल गर्नुपर्ने देखिन्छ । समस्या सुस्ताको मात्र चाहि होइन प्रसिद्ध सीमाविद् बुद्धि नारायण श्रेष्ठका अनुसार भारतले हालसम्म नेपालसंग सीमा जोडिएका जिल्लाका ६१ वटा ठाँउमा गरेर ६० हजार हेक्टर जमीन अतिक्रमण गरेको छ । दार्चुलाको कालापानी तथा लिपुभन्ज्या; काचनपुरको बनबासा क्षेत्र इलामको मानेभाज्या झापाको काकडभित्तालगायत यस्ता उदाहरण हुन् जहाँको नेपाली भूमि भारतीयहरुले जबर्जस्ती हडपेका छन् । यस्ता कैयौं समाधानविहीन रुपमा रहेका सीमा अतिक्रमणका समस्या समाधानका लागि नेपाल सरकारले निडरतापूर्वक भारतीय पक्षसंग कुरा राख्नुपर्छ र दुःखेको नेपाली मनमा मल्हम लगाउनुपर्छ । हामी सार्वभौमसत्ता सम्पन्न देशका नागरिक हौं । यदि सीमा रक्षाको लागि पहल गर्न नसकिए र भारतले पटकपटक भुमि मिच्दै जाने हो भने भोली देशको सीमा नरहन सक्छ । त्यसैले सार्वभौमसत्ता सम्पन्न नेपाल र नेपालीको रक्षाको लागि सम्पूर्ण नेपाली जागरुक हुने बेला भएको छ । नेपाल नयाँ युगमा प्रवेश गरेको छ । नेपालमा रहेको सामन्ती संस्कारको पर्खाल भत्किएको छ । र नेपाल गणतान्त्रिक नेपालमा परिणत भैसकेको छ । माओवादी जनयुद्धको नेतृत्व गरेका व्यक्तित्वलाई नेपालले प्रधानमन्त्रीको रुपमा पाइसकेको अवस्था पनि छ अहिले । यही पार्टीले नेपालको सार्वभौमसत्ता र राष्ट्रियताको पक्षमा आवाज उठाएको पनि नेपाली जनताले सुनेकै हुन् । त्यसकारण नेपाल र भारतबीच रहेको सुस्तालगायतका सीमा विवाद अब समाधान हुने आशा अनि विश्वास धेरै नेपालीले गरेका छन् । अब कुठाराघात हुने छैन । |
