Monday, November 24, 2008

१४ हजार हेक्टर सुस्ताको जमीन अतिक्रमित

यो उनीहरुको खेत हो । यसको लालपुर्जा पनि उनीहरुकै नाममा छ । नेपाल सरकारकै नाम लेखिएको छ त्यसमा । तर खेती गर्छ अर्कैले अझ अर्के देशको नागरिकले । भारतीयले आफ्नै खेतमा धान लगाएको टुलुटुल हेरेर बस्न विवश छन् उनीहरु । यो त्यही सुस्ताको कथा हो जहाँका नेपालीहरु आफ्नो भूमिलाई आफ्नो भन्न पाउदैंनन् । उनीहरु नेपाली नै हुन् । तर उनीहरुलाई अब कसैले आएर तँ भारतीय नागरिक होस् भन्लान् भन्ने पीरले सताउदैंछ । के थाहा आज जमीन हडप्नेले भोली मान्छे नै हडप्न के बेर < सुस्ताको कथा आजको होइन । सुस्ता दुःख्न थालेको एक होइन दुई होइन दशकौं बितिसकेको छ । नेपाली भूमि सुस्तालाई दिनदहाडै हरण हुनबाट बचाउन सुस्ताबासीले भरमग्दुर प्रयास गरिरहेका छन् । त्यसक्रममा उनीहरुले लाखौं रुपिया सिध्याइसकेका छन् पनि । आजबाट होइन सुस्तामाथि भारतीय पक्षले आँखा गाड्न थालेको विसं १९९२ बाट हो । त्यसयता पटकपटक गरेर भारतीय पक्षले सुस्ताको १४ हजार हेक्टर जमीन हडपिसकेको छ । नवलपरासीको त्रिवेणी गाउँ विकास समिति वडा नम्बर ४ मा पर्ने सुस्ताको कुल भूभाग २१ हजार हेक्टर हो त्यसमा पनि १४ हजार हेक्टर जमीन भारतीय पक्षको अतिक्रमणमा परिसकेको छ भने अब कति नै बाँकी छ र सुस्ता मात्र एक भाग । छिया छिया परिसकेको छ यो । यही दरमा जमीन अतिक्रमण हुँदै जाने हो भने अबको ५० वर्षमा नेपालको नक्सामा सुस्ता रहनेछैन यदि सधैझैं नेपाली पक्ष मुकदर्शक रहने हो भने ।

सुस्ता समस्या सुल्झाउन पटकपटक नेपाल र भारतबीच छलफल भएपनि कुनै निस्कर्ष निस्कन सकेको छैन । सुस्ताको विवाद सुल्झाउन विसं १९८६ मा संयुक्त सीमा कमिसन बन्यो र १९९४ २००४ र २०१० सालमा पटकपटक सुस्ताको अतिक्रमण विवाद सुल्झाउन बैठक बस्यो तर भारतीय पक्षका कारण कुनै सहमति निस्कन सकेन ।२०१६ सालमा नेपाल र भारत सरकारबीच भएको गण्डक सम्झौता अनुरुप गण्डक बांध निर्माणमा लागेका कामदार तथा भारतीय श्रमिक निर्माण पुरा भएपछि सुस्तामा बसेका कारण पनि झन् विवाद बढेर गएको बताइएको छ । २०२८ सालमा सीमा यकिन गर्न नेपालका तर्फबाट नापी नक्सा सुरु गरियो तर सुस्तास्थित ढोग सोता नाला नजिक नापी गर्दै गरेको अवस्थामा राजेन्द्र प्रसाद मराठले तयार पारेको नक्शा भारतीयले लुटि लगे । नापी गर्ने औजार भने नेपालीले मुस्किलले बचाए पनि नापी भने हुन सकेन । २०१९ सालमा केन्द्रीय स्तरबाट समिति गठन गरियो छानविन भयो तर विवाद समाधान गर्न दुबै पक्षलाइ मान्य हुने आधार निस्कन सकेन र सुस्ता भुमि झन् विवादित बन्दै गयो । यसबीचमा सुस्तामाथिको अतिक्रमण रोकिएन । झन् दिन दुगुना रात चौगुना बढ्दै गयो । आफ्नो भूमिमा हेर्दाहेर्दै अरुले धान रोप्न थालेपछि सुस्ताबासीको मन दुख्यो । उनीहरुले सहन सकेनन् । सुस्ताबासीले भूमि अतिक्रमणविरुद्ध आवाज निकाल्न थाले । तर पनि समस्याको समाधान निकाल्न नेपाल सरकारले कुनै पहल गर्न सकेको छैन ।
सुस्ता बचाउन सुस्ताबासीले सशक्त आन्दोलन गर्दै गएपछि २०६४ साउनमा स्थानीय अधिकारकिो संयुक्त बैठकले भुमि अतिक्रमण नगर्ने सहमति भयो तर सहमतिलाई भारतले कुनै वास्ता गरेन फेरी २०६४ मंसीर ६ गते पुन सुस्ताको भुमि भारतीयले अतिक्रमण गरे । अहिलेसम्म पनि भारतीय पक्षबाट सीमा मिचिने क्रम भने रोकिएको छैन । यति मात्र होइन भारतीय पक्षले नेपाली भूभाग अतिक्रमण गरी त्यहाँ नेपालीले लगाएको उखु काट्ने आगो लगाउने काम समेत गर्दै आए । नेपाली बासिन्दालाई पिट्ने यातना दिने र झुट्टा मुद्धा लगाउने जस्ता कार्यहरु भारतीय सीमा सुरक्षाबल एसएसबीको आडमा बढ्दै गएको सुस्तावासी बताउंछन् । आफूले बर्षौंदेखि खेती लगाउंदै आएको भुमी भारतीयले खोसेपछि निराश बन्दै छन् सुस्तावासी । अहिले भारतले अतिक्रमण गरेको नेपाली भुमिमा भारतीय रमपुरा गाउंका बासिन्दाले घर बनाएर धान खेती गरेका छन् । तर सुस्ताबासी भने टुलुटुलु हेरेर बस्न बाध्य भएका छन् । र लालपुर्जा नामको कागजको खोस्टो बोकेर भौतारिईरहेका भेटिन्छन् । अतिक्रमण भएको भुमी फिर्ता हुने आशामा बाटो हेरिरहेका छन् । सुस्ता बचाउ अभियानमा लागेका गोपाल गुरुझादमा खां रोज झाली लैला बेगम मुन्ना खां जस्ता नेपालीहरुलाई भारतियहरुले भौतिक तथा मानसिक यातना दिदै आएका छन । तर पनि आफ्नो भुमिको रक्षा रक्षा गर्न आफ्नो संघर्षलाई भने सुस्ताका बासिन्दाले छाडेका छैनन् । उनीहरु भनिरहेका छन् भुमी अतिक्रमण बन्द हुनु पर्छ । अतिक्रमित भूमि फिर्ता हुनु पर्छ र हामी नेपाली भएर बाँच्न पाउनु पर्छ । सुस्ताको रक्षा गर्न सुस्ता बासीहरु कहिले सदरमुकाम परासी त कहिले काठमाडौ नपुगेका पनि होइनन । तर सुस्ता बासिको आवाजलाई सरकारले सुने पनि नसुने झै गरेर बसिरह्यो । अतिक्रमित भुमी रोक्न कुनै पहलसम्म गर्न सकेन । सुस्ताबासी भनिरहेका छन् हामीहरु मिचिएको जमिन लिन भारतीय नागरिक हुन जाउँ की लालपुर्जाको खोस्टो समातेर सुकुम्वासी नेपाली भएर जिउदै मरेको अवस्थामा बाँचु

सुस्ता एउटा उदाहरण मात्र हो सुस्ताजस्ता थुप्रै नेपाली भूभाग भारतीय अतिक्रमणमा परेका छन् । तिनीहरुको रक्षा गर्ने दायित्व नेपाल सरकारको हो । यदि बेलैमा रक्षाका लागि बेलैमा पहल नगरिए सुस्ता कालापानी जस्तो नहोला भन्न सकिन्न । सुस्ताको भुमि रक्षाको लागि राजनीतिक तहमा छलफल गर्नुपर्दछ सरकारले । नयाँ नेपालका राष्ट्र र सरकारप्रमुखले सीमा समस्या समाधानका लागि प्राथमिकताका साथ पहल गर्नुपर्दछ । सीमा समस्या समाधान सम्बन्धी कुरा उठाउंदा भारतीय समकक्षी रिसाउलान् र आफनो कुसर्ी संकटमा पर्ला भन्ने अनाहकको डर र भय राजनीतिक दलले हटाउनै पर्दछ ।भूमि भारतीयले अतिक्रमण गरे । तर जीवन आफ्नै सरकारले गरिरहेको छ नेपाल सरकारले । मानिसलाई चाहिले न्युनतम आवश्यकताहरु सरकारले दिएको छैन टाउको दुख्दा सिटामोलसमेत पाउदैंनन् सुस्ताबासी । भारतीय बजारमा जान सजिलो छ उनीहरुलाई तर स्वदेशकै बजारमा जान ज्यानकै बाजी लगाउनुपर्छ । पुलसमेत बनाइदिएको छैन सरकारले । बिजुलीको मुख देखेका छैनन् शिक्षाबाट विाचत छन् । त्यसैले त सुस्ताबासीको जीवनमाथि नै अतिक्रमण भइरहेको छ ।केही दिन अघि एक वर्षको छोराको मृत्यु भयो । मृत्युको कारण अरु केही थिएन । छोरो झाडापखालाले ग्रस्त थियो तर उसले समयमै उपचार पाएन । सुस्ताबासीले भोगेको प्रतिनिधि घटना हो यो । सुस्तामा एउटा स्वास्थ्य उपचार केन्द्र छ तर त्यहाँ टाउको दुख्दा खाने सिटामोलसमेत छैन । उपचारको आशा बोकेर आएका मानिसहरु पनि रित्तो प्राथमिक स्वास्थ्य केन्द्र देखेपछि निराश भएर फर्कन्छन् । तीन महिनाअघि बिदामा गएका प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारी अहिलेसम्म फर्किएका छैनन् । पटकपटक सदरमुकामको जिल्ला जनस्वास्थ्य पुगेर डाक्टर र औषधी पठाईदिन आग्रह गरेपनि जिल्ला जनस्वास्थ्य कार्यालयले सुनेको छैन । नजिकै रहेको भारतीय रमपुरवा गाउका बासिन्दा र भारतीय एसएसबी फोस्रले अनाहकमा दुःख दिनेगरेकाले पनि सुस्ताबासी भारतीय बजारमा उपचार गराउन जाँन सक्दैनन् । उपचारमात्र हैन दैनिक उपाभोग्य बस्तु किन्न पनि भारतिय बजारमा भरपर्नु पर्ने बाध्यता छ भने नेपाली बजारमा जानका लागि डुंगाको सहारा लिनु परेको छ । अझ त्यसमाथि भनेको बेला डुंगा नपाइने र घण्टौ कुर्नु पर्ने बाध्यता छदैंछ । बर्षायाममा त ज्यानको बाजी नै थापेर डुगा चढ्नु पर्ने बाध्यता छ सुस्तावासीलाई । यतिमात्र होइन सुस्ताबासी शिक्षाबाट समेत बन्चित हुनु परको छ । न त राम्रो बिद्यालय छ न त शिक्षकको दरबन्दी नै । नारायणी नदी पार गरेर जानु पर्ने बाध्यता छ । त्यसकारण पनि धेरै बिद्यार्थीले बिचमै अध्ययन छाड्ने गरेका छन् । सुस्ताबासीलाई अझैं पनि टुकी नियतीले छाड्न सकेको छैन । हरेक रात अन्धकार झैं लाग्छ सुस्ताबासीलाई । रात टुकीको भरमा बिताउनुपर्छ तर मट्टितेलको जोहो चाहि कसरी गर्ने उनीहरुलाई थाहा छैन । बेरोजगारी शिक्षा तथा स्वास्थ्य सुविधाबाट विाचत सुस्तामा सरकारका मन्त्री राजनीतिक दल र नेतासमेत नपुगेका चाहि होइनन् र तिनीहरुले अतिक्रमण रोक्न पहल गर्ने र सुस्ताको विकासका लागि आवाज उठाउने आश्वासन नदिएका पनि होइनन् तर सुस्ताबासीका ती समस्या ज्युँका त्युँ छन् । न भुमि अतिक्रमण रोकिएको छ नत झोलुगें पुल नै बनेको छ न बिजुलि बत्ति नै बाल्न पाएका छन् सुस्ताबासीले । सीमा समस्यालाई समाधान गर्ने प्रयास त सरकारले गरेन । तर यदि सुस्तालाई पनि नेपालकै अभिन्न अंग मान्ने हो र सुस्ताबासीलाई राज्यकै नागरिक मान्ने हो भने उनीहरुलाई सहज जीवन धान्न हुने गरी न्युनतम आवश्यकताहरुको व्यवस्था सरकारले गरिदिनुपर्छ । यातायात बिजुली शिक्षा स्वास्थ्य त्यस्ता न्युनतम आवश्यकता हुन् जसको चर्को अभाव भोगिरहेका छन् सुस्ताबासी । यी अभाव पूरा भए भने मात्र सुस्ताबासीले पनि नयाँ नेपालको वास्तविक स्वाद चाख्न पाउनेछन् । यसका लागि नयाँ सरकारले पहल गर्नुपर्ने देखिन्छ । समस्या सुस्ताको मात्र चाहि होइन प्रसिद्ध सीमाविद् बुद्धि नारायण श्रेष्ठका अनुसार भारतले हालसम्म नेपालसंग सीमा जोडिएका जिल्लाका ६१ वटा ठाँउमा गरेर ६० हजार हेक्टर जमीन अतिक्रमण गरेको छ । दार्चुलाको कालापानी तथा लिपुभन्ज्या; काचनपुरको बनबासा क्षेत्र इलामको मानेभाज्या झापाको काकडभित्तालगायत यस्ता उदाहरण हुन् जहाँको नेपाली भूमि भारतीयहरुले जबर्जस्ती हडपेका छन् । यस्ता कैयौं समाधानविहीन रुपमा रहेका सीमा अतिक्रमणका समस्या समाधानका लागि नेपाल सरकारले निडरतापूर्वक भारतीय पक्षसंग कुरा राख्नुपर्छ र दुःखेको नेपाली मनमा मल्हम लगाउनुपर्छ । हामी सार्वभौमसत्ता सम्पन्न देशका नागरिक हौं । यदि सीमा रक्षाको लागि पहल गर्न नसकिए र भारतले पटकपटक भुमि मिच्दै जाने हो भने भोली देशको सीमा नरहन सक्छ । त्यसैले सार्वभौमसत्ता सम्पन्न नेपाल र नेपालीको रक्षाको लागि सम्पूर्ण नेपाली जागरुक हुने बेला भएको छ । नेपाल नयाँ युगमा प्रवेश गरेको छ । नेपालमा रहेको सामन्ती संस्कारको पर्खाल भत्किएको छ । र नेपाल गणतान्त्रिक नेपालमा परिणत भैसकेको छ । माओवादी जनयुद्धको नेतृत्व गरेका व्यक्तित्वलाई नेपालले प्रधानमन्त्रीको रुपमा पाइसकेको अवस्था पनि छ अहिले । यही पार्टीले नेपालको सार्वभौमसत्ता र राष्ट्रियताको पक्षमा आवाज उठाएको पनि नेपाली जनताले सुनेकै हुन् । त्यसकारण नेपाल र भारतबीच रहेको सुस्तालगायतका सीमा विवाद अब समाधान हुने आशा अनि विश्वास धेरै नेपालीले गरेका छन् । अब कुठाराघात हुने छैन ।

No comments: